Thaha

Sunday 22 September - 1:37 am NST

चालु आर्थिक वर्षमा लक्ष्य अनुसार नै राजस्व संकलन हुने  अर्थमन्त्रालयको दावी

काठमाडौं, १३ फागुन । सरकारले चालु आर्थिक वर्षमा लक्ष्य अनुसार नै राजस्व संकलन हुने जनाएको छ । लामो समयको नाकाबन्दीका कारण आयात निर्यात ठप्प हुदाँ चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य भन्दा ५७ अर्ब कम राजस्व असुली भएकोमा अब न्युन राजस्व असुली पूर्ति गरी लक्ष्य अनुसार राजस्व संकलन गरिने अर्थ मन्त्रालयका राजस्व महाशाखा प्रमुख लक्ष्मण अर्यालले रेडियो थाहा सञ्चार नेटवर्कलाई जानकारी दिनुभयो । सीमा नाका खुलेसँगै आपूर्ति सहज हुन थालेकोले सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्ने भन्दै उहाँले  फागुन पछि पूँजीगत खर्च बढ्ने र डलरको मुल्य बढेका कारण लक्ष्य अनुसार नै राजस्व संकलन गर्ने संम्भवना भएको बताउनु भयो । चालु आर्थिकवर्षमा सरकारले ४ सय ७५ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा माघ मसान्तसम्म १ सय ९३ अर्ब मात्र संकलन भएको छ । यो ५७ अर्बले कमी हो । चालु आवको पहिलो महिना साउनमा लक्ष्य अनुसार राजस्व संकलन भएपनि त्यसपछि नाकाबन्दीका कारण राजस्व संकलन प्रभावित भएको अर्यालको भनाई छ ।  सरकारले आगामी आर्थिक बर्षका लागि बजेटको सीमा ९ खर्ब ९ अर्ब निर्धारण गरेको पनि जानकारी दिनुभयो । यो सीमा चालु आर्थिक बर्षको भन्दा ९१ अर्वले बढी हुन्छ ।